२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

जंगलमा डढेलो लागेपछि गाउँ पसे जनावर



  • आफ्नै खबर
  • ९ बैशाख २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या १५४
  • म्याग्दी/  म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।
    मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजीमा गाउँ पसेका हुन् । 

    मंगला– ५ का किसान टीकानाथ कँडेलले भन्नुभयो, ‘खेतबारीमा लगाएको बाली र तरकारी खेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन् ।’ कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन, घरभित्र नै छिर्न थालेका छन् । मालिकाको वडा नम्बर ६ उपल्लो दुखु, वडा नम्बर १ निस्कोट र वडा नम्बर २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ । मालिका– ६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्नुहुन्छ, ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।’ 

    खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्सामा पकाएको खानेकुरासमेत खाइदिन थालेको उहाँले बताउनुभयो । खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । 

    वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जंगलमा डढेलो लागेपछि बेँसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मंगला– ५ छिस्वाङका निकेश पुनले बताउनुभयो । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले रात परेपछि बालीनाली नोक्सान गर्ने गरेको उहाँको भनाइ छ । बँदेलले राति मात्र बाली नोक्सान गर्छ । ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

    जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेलआतंक बढ्दै गएको किसान बताउँछन् । बँदेलले कैयन बच्चा यतै हुर्काइसकेका मालिका– १ का किसान टेकबहादुर विकले बताउनुभयो । दुम्सी आफ्नो बस्तीमा छ्यास्छ्यास्ती देखिने उहाँको भनाइ छ ।

     

    रासस