१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘बगरखेती’ बाट मनग्य आम्दानी गर्दै दाङका कृषक



  • आफ्नै खबर
  • ९ बैशाख २०८१ आईतबार (७ महिना अघि)
  • पाठक संख्या १०७
  • दाङ/  राप्ती नदीका कारण बगरमा परिणत भएको जमिनमा पौरखी किसानले ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् । 

    कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ । यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन् । यसरी आम्दानी गर्नेमध्ये एक हुनुहुन्छ लमही नगरपालिका –४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी ।

    चौधरीले करिब दुई बिगाहा बगरमा खरवुजा र केही जमिनमा भन्टा, लौका, करेला, बोडीलगायत बेमौसमी तरकारी खेती गरिरहनुभएको छ । ३० वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउनुहुन्छ । त्यस समय यही बगरले उठिबास पारेको थियो सम्झिने चौधरी अहिले भने खुसी हुनुहुन्छ ।

    विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभए पनि पछिल्ला ६ वर्षयता राम्रो आग्दानी गरिरहेको बताउनुहुन्छ । उहाँका अनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । 

    “बाढी पसेको १० वर्षसम्म त यहाँ बालुवा मात्रै थियो । पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू गर्यौँ । अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन”, चौधरीको भनाइ छ,“बगरखेतीपछि मिहेनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाइ भएको छ ।”

    सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदूरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ । उहाँले पनि एक विघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेति गरेर एक मौषममा रु एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको बताउनुभयो । 

    सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरवास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ । 

    लमही नगरपालिका –४ बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गर्न सफल भएका उहाँहरु नै बताउनुहुन्छ । राप्ती नदी आसपासका यि तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिकरूपमा गरी दुई हजारभन्दा बढी किसानले एक सय दुई समूह बनाएर उपयोग गरिरहेका स्थानीय कृषि बहुउद्देश्य सहकारी संस्थाको तथ्याङ्क छ । यही संस्थाले सुरूमा किसानलाई  निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा विना धितो ऋण पनि उलब्ध गराउँदै आएको थियो ।

    लमही नगरपालिकाको कृषि शाखाकी गङ्गा चौधरीले हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको जानकारी दिनुभयो । गढवा गाउँपालिकाले भने किसानले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म पुयाउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । 

    तर एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकाले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझबढी लाभ लिन सकिने यहाँका किसानको बुझाइ छ ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?