१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

हात्तीदह सिमसारमा रमाउने पर्यटक ह्वात्तै बढे



  • आफ्नै खबर
  • १० बैशाख २०८१ सोमबार (७ महिना अघि)
  • पाठक संख्या ८६
  • सिराहा/  सिराहाको लहान नगरपालिका–१५ मा रहेको ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । २ वर्षअघि ‘कोइरालो खोला नमुना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि अघिल्लो वर्ष मात्र यस क्षेत्रको अवलोकन भ्रमण गर्नेको संख्या १ लाख २५ हजारभन्दा बढी पुगेको हो । 

    हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, ‘यसले हामीलाई उत्साह थपेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँछौँ ।’ 

    उक्त सिमसार क्षेत्रको पर्यटन विकासमा सरकारका विभिन्न निकाय तथा नेताहरूको समेत योगदान रहेको छ । डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्या–पर्यटनका लागि सहयोग, लहान नगरपालिकाले सडक निर्माण तथा मर्मत, स्वर्गीय नेता प्रदीप गिरीको संघीय संसदीय विकास कोषबाट खानेपानी ट्यांकी निर्माण, वडा नम्बर १५ ले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोजस्थल निर्माण र पर्या–पर्यटन प्रवद्र्धन गर्न सहयोग गरेपछि यस क्षेत्रको विकास सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

    चुरे पर्वतको फेदमा हरियाली वनजंगल, बीचमा डुंगायात्रासहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरणले पर्यटकलाई आकर्षित गरेको छ । यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि उद्यान, प्राणी उद्यान केन्द्रलगायत संरचना यहाँ निर्माण गरिएका छन् । करिब ५६ हेक्टरमा फैलिएको लहान– १५ ढोड्नामा रहेको ‘कोइरालो समुदायिक वन’मध्ये ५ हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो । 

    आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्न साहसिक पर्या–पर्यटन, सामुदायिक होमस्टे प्रवद्र्धन, घोडसवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट ३८ जनाले रोजगार पाएका छन् । 

    नजिकै रहेको राजदेवी मन्दिरलाई पनि जोडेर यस क्षेत्रको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । सिमसार पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएर थप पूर्वाधार निर्माणमा जोड दिइने उहाँको भनाइ छ । 

     

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?