मनाङ/ हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । ०८० मा २१ हजार ४ सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ ।
वैशाखदेखि चैत मसान्तसम्ममा सो संख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये फ्रान्सका नागरिक बढी आएको तथ्यांकमा उल्लेख छ । मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षमा फ्रान्सका २ हजार ४ सय ८२ पर्यटक मनाङ भ्रमणमा आएका हुन् ।
त्यस्तै, इजरायलका १ हजार ८ सय २१ र जर्मनीका १ हजार ७ सय ५४ नागरिक मनाङ भ्रमणमा आएको तथ्यांक रहेको उहाँले बताउनुभयो । विदेशीको रोजाइमा मनाङ प्रमुख रहने गरेको पाइएको प्रमुख भुजेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘अन्य देशबाट पर्यटक आउने भए पनि यी देशका नागरिक बढी आउने गरेका छन्, संख्याको आधारमा यी धेरै हुन्, अमेरिका, चीन, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको तथ्यांक हामीमा दर्ता भएका छन् ।’ मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।
नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै १ सय १५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ वर्षका दिनमा आन्तरिक पर्यटकको समेत उल्लेख्य आगमन भएको थियो । सडक सञ्जालले मनाङ आउने आन्तरिक पर्यटकलाई समेत सहज भएको उहाँको भनाइ छ ।
आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रकृति पर्यटनविद् भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘३÷४ दिनको बिदा लगातार परेको अवस्थामा मनाङ आन्तरिक पर्यटकले भरिभराउ हुन्छ, भ्रमणमा निस्कने प्रवृत्ति नेपालीमा पनि बढ्दै गएको छ ।’ आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन, तर पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उहाँको भनाइ छ ।
यहाँ भित्रिने अधिकांश पर्यटक थोराङला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका– ९ का वडाध्यक्ष चोल्पा गुरुङले बताउनुभयो । केही दिन बिदा भएको बेलामा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका उहाँको भनाइ छ ।
कोभिडको संक्रमण र २०७८ सालको बाढी–पहिरोपछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस