१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सर्लाहीमा ८ हजारभन्दा बढीलाई विद्यालयमा भर्ना गर्न बाँकी 



  • आफ्नै खबर
  • ११ बैशाख २०८१ मंगलबार (७ महिना अघि)
  • पाठक संख्या ६८
  • सर्लाही/  राष्ट्रव्यापी रूपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजारभन्दा बढी विद्यालय उमेरका बालबालिका विद्यालयमा भर्ना हुन बाँकी रहेको देखिएको छ । जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइको तथ्यांकअनुसार ३ हजार ७ सय ९७ जना बालिका र ४ हजार ४ सय ८० जना बालक गरी ८ हजार २ सय ७७ जना विद्यालय उमेरका बालबालिकालाई भर्ना गर्न बाँकी रहेको देखिएको हो । 

    विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालयमा भर्ना भइनसकेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनीलकुमार कुशवाहले जानकारी दिनुभयो । तथ्यांकअनुसार जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो । 

    सबैभन्दा कम पर्सा गाउँपालिकाका बालबालिका विद्यालयबाहिर छन् । बरहथवा नगपालिकामा ५ देखि १२ वर्ष उमेर समूहका ३ सय ६९ जना बालिका र ४ सय ६३ जना बालक गरी ८ सय ३२ बालबालिका विद्यालयबाहिर छन् । 

    यस्तै, सबैभन्दा कम पर्सा गाउँपालिकामा १ सय १५ जना बालिका र १ सय २७ जना बालक गरी २ सय ४२ जना बालबालिका विद्यालयबाहिर रहेका छन् । समाजमा अझै पनि धेरै अभिभावकमा बालबालिका पढाउनुपर्छ भन्ने चेतना नभएको पर्सा गाउँपालिका– १ मा रहेको प्राथमिक विद्यालयका शिक्षक रामनारायण रायले बताउनुभयो । विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालयमा ल्याइने उहाँको भनाइ छ ।

    अन्य पालिकामा पनि विद्यालय उमेरका बालबालिका अझै विद्यालयबाहिर रहेको तथ्यांकले देखाएको छ । विशेष गरेर गरिबी तथा चेतनास्तरको कमीका कारण बालबालिकालाई अभिभावकले विद्यालय नपठाउने गरेको पाइएको छ । धेरै अभिभावक इँटाभट्टालगायत स्थानमा मौसमी कामदारका रूपमा जाने गर्दा पनि बालबालिका विद्यालयबाहिर रहने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताउनुभयो । 

    यसरी विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन जिल्लामा यतिबेला भर्ना अभियान चलिरहेको छ । विद्यालयका शिक्षक–शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थितिमा र्याली तथा घरदैलो कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । अधिकांश पालिकाले यस वर्ष विद्यालय उमेरका बालबालिकालाई शतप्रतिशत विद्यालय भर्ना गरिने बताएका छन् ।

     

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?