काठमाडौं/ त्रिभुवन विश्वविद्यालयमा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिमको आयोजना भएको छ । जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र चाइनिज एकेडेमी अफ साइन्सेस तथा त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरई) ले तालिम आयोजना गरेको हो ।
अनुसन्धानकर्ता उपप्राध्यापकहरूको क्षमता अभिवृद्धिमार्फत शैक्षिक उत्कृष्टता बढाउन आयोजित तालिममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत कार्यरत उपप्राध्यापक र सहायक प्राध्यापकहरू २५ जना समावेश गराइएको छ ।
तालिमको उदघाटन गर्दै त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले व्यावहारिक ज्ञानको निर्माण र समसामयिक चुनौतीलाई सम्बोधन गर्न तथ्यांक विश्लेषण र प्रभावकारी वैज्ञानिक पेपर लेखनको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । अनुसन्धान र उत्कृष्ट लेखनमार्फत विश्वविद्यालयहरू उत्कृष्ट बन्ने हुँदा जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसनले गरेको कामको प्रशंसा गर्नुभएको थियो । शैक्षिक भविष्यलाई आकार दिन यस्ता कार्यक्रमहरूको मद्दत गर्ने भन्दै उपकुलपति प्रा.डा. बरालले त्रिविमा कार्यरत प्राध्यापक एवम् अध्ययनरतहरूलाई विश्वस्तरको शिक्षा र अनुसन्धानका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. विनिल अर्यालले विश्वका सबै विधाहरू तथ्यांक विश्लेषण एवं वैज्ञानिक लेखनमा केन्द्रित हुँदै गएको र तथ्यांक नै वैज्ञानिक विश्लेषणको महत्वपूर्ण आधार रहेको हुँदा उपप्राध्यापकहरूलाई यसप्रकारको तालिमले अनुसन्धानमा महत्वपूर्ण योगदान गर्न सहयोग गर्ने बताउनुभयो । यसप्रकारका तालिमले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका जर्नलहरूमा समेत लेखहरू प्रकाशित गर्न उत्प्रेरित गर्ने र समग्रमा प्राज्ञिक क्षमताको विकास हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।
चाइनिज एकेडेमी अफ साइन्सेसको इन्सिच्युट अफ टिबेटियन प्लेटो रिसर्चका उपनिर्देशक तथा काठमाडौं सेन्टर फर रिसर्च एन्ड एकुजकेसन (केसिआरई)का निर्देशक प्रा.डा. बाइक्विङ सुले दुवै देशको वैज्ञानिक अनुसन्धानको तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण सहकार्य गर्न निर्मित केसिआरईले त्रिविको समग्र प्राज्ञिक उन्नयनका लागि महत्वपूर्ण सहयोग पुर्याउँदै आइरहेको बताउनुभयो । साथै युवा अनुसन्धानकर्मीहरूलाई अनुदान, विभिन्न तालिमहरूको आयोजना, वैज्ञानिक सम्मेलनहरूका लागि सहयोगलगायतका पक्षहरूमा सहकार्य गरिरहेको उहाँको भनाइ थियो ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दीपक अर्यालले विभागले निरन्तर रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यमा विभिन्न वैज्ञानिक सम्मेलन, वर्कसप एवं तालिमहरूको आयोजना गर्दै आइरहेको र युवा उपप्राध्यापकहरूको प्राज्ञिक विकास र क्षमता वृद्धिलाई विशेष प्राथमिकता दिइँदै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरई)का उपनिर्देशक डा. विनोद दवाडीले तालिममार्फत अनुसन्धान र लेखन क्षमताको विकास गर्ने, जर्नल प्रकाशनमा उत्प्रेरित गर्ने र उपप्राध्यापकहरूलाई पुनर्ताजगी गर्दै आफूले जानेका विषयलाई निरन्तर अद्यावधिक गर्ने उद्देश्य राखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस