३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

कतारका अमिरको स्वागतमा चोकचोकमा स्वागतद्वार



  • आफ्नै खबर
  • ११ बैशाख २०८१ मंगलबार (१ बर्ष अघि)
  • पाठक संख्या ९७
  • काठमाडौं/  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि संघीय राजधानी काठमाडौंको मुख्य सडक तथा चोकचोकमा स्वागतद्वार राखेर सिँगारिएको छ । साथै कतारका अतिविशिष्ट पाहुनाको स्वागतका लागि स्वागतद्वार, तुल–ब्यानरसहित चिटिक्क पारिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तिनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ । 

    काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरीहरू परिचालनमा विशेष ध्यान दिएका छौँ ।’

    काठमाडौंका विभिन्न सडक तथा चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिरअंकित ब्यानर राखिएको छ । उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षक रूपमा सजाइएको छ । उपत्यकाका संस्कृति–परम्परा झल्कने विभिन्न तस्बिरअंकित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

    कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ट पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौंका सडक सजिएका छन् । विशिष्ट पाहुना आवत–जावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।

    विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटेल, कार्यक्रम हुने स्थल द्वारिकाज होटेलसम्मको सडक चिटिक्क पारिएको छ । काठमाडौं महानगरपालिका, गैरआवासीय नेपाली संघ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् । 

     

    रासस