१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बुटवल उपमहानगरको नागरिक बडापत्र ४ भाषामा



  • आफ्नै खबर
  • ११ बैशाख २०८१ मंगलबार (७ महिना अघि)
  • पाठक संख्या ७१
  • रूपन्देही/  बुटवल उपमहानगरपालिकाले मुख्य ४ भाषामा नागरिक बडापत्र प्रकाशन गरेको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि उपमहानगरपालिकाले आजदेखि नेपालीसहित थारू, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र प्रकाशन गरेको हो ।

    उपमहानगरमा बसोवास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा चार भाषामा तयार गरिएको नागरिक बडापत्र नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गर्नुभयो । त्यस अवसरमा नगर प्रमुख पाण्डेयले जनसंख्याको आधारमा चार भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरू केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको जानकारी दिनुभयो । उहाँले स्थानीयस्तरमा थारू, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञको संलग्नतामा बडापत्र तयार गरिएकाले भूगोलअनुसार भाषामा फरक आउन सक्ने बताउनुभयो ।

    उपमहानगरकी उपप्रमुख सावित्रादेवी अयाृलले बुटवलले सबै जाति, भाषा, संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८, थारू भाषा बोल्ने ४.९ र नेपाल भाषा बोल्ने ३ प्रतिशत जनसंख्या छ । 

    बडापत्रको प्रयोगले सेवाग्राहीले आफूले प्राप्त गर्न खोजेको सेवा बडापत्रका माध्यमबाट त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सक्नेछन् । उक्त कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिनेछ । 

    बडापत्रलाई पुस्तकका रूपमा प्रकाशन गरिएको र छिट्टै नै डिजिटल रूपमा सबै वडामा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो ।

     

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?