तनहुँ/ तनहुँका २३ वटा सामुदायिक वनमा लागेको डढेलो सबै नियन्त्रणमा आएको छ । फागुनदेखि वैशाखको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो ।
डढेलोका कारण साढे दुई महिनाको अवधिमा १ सय १७.३ हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० पालिकामध्ये ७ पालिकामा डढेलो लागेको छ । आँबुखैरेनी, घिरिङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका ६–६ वटा सामुदायिक वनमा डढेलो लागेको थियो ।
त्यसैगरी, ऋषिङ गाउँपालिकामा ४ वटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा २–२ र शुक्लागण्डकीको १ सामुदायिक वनमा आगलागी भएको थियो । भौगोलिक विकटताका कारण आगलागीका घटनापछि नियन्त्रणमा लिन कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वनका कर्मचारी तथा उपभोक्ताको सक्रियतामा आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका रहँदै आएको छ । आगलागीबाट वन जोगाउन सचेतनामूलक कार्यक्रमलाई व्यापक रूपमा प्रचारप्रसार गरिएको छ । माइकिङका साथै सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ ।
डिभिजन वनमातहतमा अग्नि नियन्त्रण कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । वनमा डढेलो लागेको सूचना आउनेबित्तिकै टोली परिचालन गर्ने गरिएको डिभिजन वनका अर्का वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।
ठूलो परिमाणमा आगलागी र जोखिम हुने देखिएमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँग समन्वय गरी आगो नियन्त्रणको प्रयास गरिएको छ । तनहुँमा सामुदायिक वन ६ सय २४, कबुलियती वन ४ सय ८५ र धार्मिक वन ११ वटा रहेका छन् ।
रासस
प्रतिक्रिया दिनुहोस