काठमाडाैं मेलम्ची नगरपालिकाले कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नगरस्तरीय खैजडी भजन प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकाको आयोजना र जेष्ठ नागरिक सञ्जाल मेलम्ची नगरपालिकाको समन्वयमा भएको प्रतियोगितामा नगरका ८ वटा वडा सहभागी थिए।
प्रतियोगितामा वडा नम्बर १२ पहिलो,वडा नम्बर ८ दोस्रो र वडा नम्बर १० तेस्रो भयो । प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश नगद १२ हजार,१० हजार र ८ हजार पुरस्कार प्राप्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कला र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको स्मरण गर्नुभयो । ज्येष्ठ नागरिक हाम्रो समाजको गहना भएकाले उहाँहरुसँग भएका प्रतिभा तथा कलाहरुको संरक्षण गर्दै पुस्तान्तरणको खाँचो रहेको उहाँले औल्याउनुभयो । प्रमुख तामाङले आगामी दिनमा पनि हुने यस्ताखाले कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।
मौलिक कला र संस्कृतिको प्रचारप्रसार र संरक्षण जरुरी रहेको उपप्रमुख उमा प्रधानले बताउनुभयो । विशेषगरी हाम्रो समाजमा हरेका जेष्ठनागरिकहरु बहुप्रतिभाका खानी भएकाले दोस्रो पुस्ताले ती कार्यहरुको अनुसरण गर्नुपर्ने बताउनुभयो । नगरापलिका भित्रका सवै जातजातिका परम्परा, कला र सँस्कृतिलाई समान ढंगले सम्बोधन गर्दै अगाडि बढ्ने उपप्रमुख प्रधानले प्रतिबद्धता जनाउनुभयो । उहाँले सम्पुर्ण नगरबासीको त्याग संघर्ष र मेहनतबाट मात्र नगरको मुहार परिवर्तन हुन सक्ने बताउँदै नगरको विकासमा सवै नागरिकले सकरात्मक र रचनात्मक भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस