१९ मंसिर २०८२ शुक्रबार | 05 Dec 2025 Fri

ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थाले



  • आफ्नै खबर
  • १२ बैशाख २०८१ बुधबार (२ बर्ष अघि)
  • पाठक संख्या १५९
  • गण्डकी/  पोखरा महानगरपालिकाको वडा नम्बर २५ का ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थालेका छन् । वडा कार्यालयले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु गरेर ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान सुरु गरेको हो । 

    हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । ‘विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधि नियमित सेवन गरे–नगरेको अनुगमन गरिन्छ,’ प्रमुख सुवेदीले भन्नुभयो, ‘सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।’ उहाँले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवद्र्घनका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिने बताउनुभयो । 

    उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिने उहाँको भनाइ छ । अस्पताल जानुपर्ने अवस्था भए सोहीअनुसारका सल्लाह दिइने उहाँले जानकारी दिनुभयो । 

    वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको हो । वडाध्यक्ष मोती तिम्सिनाले महानगरकै नमुना कार्यक्रमका रूपमा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरिएको बताउनुभयो ।