२५ भदौ २०८२ बुधबार | 10 Sep 2025 Wed

मोहन्याल गाउँपालिकाले सुरु गर्यो ९ वटा सिँचाइ योजना



मोहन्याल गाउँपालिका भवन
  • आफ्नै खबर
  • १२ बैशाख २०८१ बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या १२७
  • कैलाली/  कैलालीको मोहन्याल गाउँपालिकाका ५ वटा वडामा ९ वटा सिँचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाइ सुविधा पुर्याउन वडा नम्बर ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो ।

    खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्न खेतीयोग्य जमिनमा सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ । चालू आवमा सुदूरपश्चिम प्रदेश सरकार र संघ ससर्त अनुदानबाट विनियोजित २ करोड २० लाख रुपैयाँबाट ती योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले जानकारी दिनुभयो ।

    सिँचाइ कार्यालयका अनुसार पट्रेनी सिँचाइ योजनामा २५ लाख, बडापानीमा १५ लाख, आमखोलामा १५ लाख, मौतोलीमा १५ लाख, माथिल्लो बारेगडामा २० लाख, बागेरवामा २० लाख, पटघारीमा २५ लाख, ओखडेको कोटमा २० लाख र अप्रीखोलामा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

    त्यसैगरी, मोहन्याल गाउँपालिका– ३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत संघ ससर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिँचाइ योजनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको कार्यालय प्रमुख पालले बताउनुभयो । सो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनको चरणमा रहेको छ ।

    खाद्यबाली, तरकारी र फलफूलखेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिँचाइ अभावका कारण अकासेपानीका भरमा खेती गर्दै आएका थिए । सिँचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताउनुभयो । निर्माण सुरु गरिएका योजनामध्ये तीनवटा क्रमागत र बाँकी योजना नयाँ हुन् ।