काठमाडौं/ नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । परिषद्ले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने जनाइएको छ ।
तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु रहेको महासंघले जनाएको छ ।
नेपालीहरूको कामको गन्तव्यका रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्ने महासंघको अपेक्षा छ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडीबुटी, मसला र मसलाजन्य वस्तुलगायतको अत्यधिक माग छ । तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरी, पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्नेछ ।
परिषद् स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राख्नुभएको छ । कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले भन्नुभयो, ‘यस सम्झौताले आगामी दिनमा सहकार्यलाई थप बढाउनेछ ।’
महासंघ अध्यक्ष ढकालले परिषद्मार्पmत थप सहकार्यका लागि थप काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ ।’ यसैगरी, महासंघ अध्यक्ष ढकालले परिषद्को स्थापनापछि नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस