२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक



  • आफ्नै खबर
  • १३ बैशाख २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या ८९
  • काठमाडौं/  नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी २ वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको ल्हासामा सम्पन्न भएको छ ।

    बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासामा रहेको नेपालको महावाणिज्य दूतावासले जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरूको प्रारूप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचार–विमर्श भएको थियो ।

    दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएको महावाणिज्य दूतावासले जनाएको छ । 

    बैठकमा नेपाली पक्षको नेतृत्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका महानिर्देशक सुश्री बैमन याङजोङले गर्नुभएको थियो । 

    बुधबार नै नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेंकीसँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा आपसी हितका विविध विषयमा विचार आदान–प्रदान हुनुका साथै नेपाल–चीन सम्बन्ध अभिवृद्धि गर्ने सामाजिक–आर्थिक मामिलामा छलफल भएको थियो ।