डोल्पा/ भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार रुपैयाँको लागतमा संघीय सरकारले ती पुल निर्माण गर्न लागेको हो ।
रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने खदाङ, सोही पालिकाको वडा नम्बर १ छलगाडमा पक्की पुल बन्न लागेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायले बताउनुभयो ।
चितवन भरतरपुरमा रहेको वाइपी, एमआर जेभीले निर्माणको जिम्मा लिएको तीनवटै पुल ४२ महिनाभित्र पूरा गर्ने सम्झौता भएको छ । तल्नुबगरमा पुल निर्माण सुरु भइसकेको र खदाङ र छलगाड खोलामा केही महिनाभित्रै काम थालिने निर्माण कम्पनीले जनाएको छ ।
छलगाड खोलामा निर्माण हुने पुलको वातावरणीय प्रभाव मूल्यांकनबारे सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । सुनुवाइका क्रममा त्रिपुराकोटका स्थानीयले पुल निर्माणमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका थिए ।
सार्वजनिक सुनुवाइ भए पनि आयोजनाका वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अझै स्वीकृत नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस