१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

विद्यार्थी नपुुगेपछि धमाधम विद्यालय समायोजन



  • आफ्नै खबर
  • १३ बैशाख २०८१ बिहिबार (७ महिना अघि)
  • पाठक संख्या १०४
  • काभ्रेपलाञ्चोक/  नयाँ शैक्षिक सत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी संख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले विद्यालय समायोजन गर्न सुरु गरेका छन् । पालिकाहरूले भूगोलका हिसाबले नजिकका विद्यालय समायोजन गर्न थालेका हुन् । 

    पालिकाले गठन गरेको विद्यालय अनुगमन तथा सुपरिवेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गर्ने क्रम अगाडि बढाएको हो । यसैक्रममा रोशी गाउँपालिकाभित्र सञ्चालित पाँच विद्यालय समायोजन गरिएको छ । 

    विद्यालय अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदनअनुसार गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गरी कार्यान्वयन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ मा सञ्चालित ठेडाचौर प्राथमिक विद्यालय र चेतना माध्यमिक विद्यालय समायोजन भई ठेडाचौर चेतना माध्यमिक विद्यालय नामकरण गरेको छ ।

    यस्तै, वडा नम्बर २ मा रहेको गणेश प्राथमिक विद्यालय र ग्रामस्थान प्राथमिक विद्यालय समायोजन भई ग्रामस्थान गणेश प्राथमिक विद्यालय, महाभारत प्राथमिक विद्यालय र भुसुने कालीदेवी प्राथमिक विद्यालय समायोजन भई भुसुने कालीदेवी महाभारत प्राथमिक विद्यालय नामकरण गरिएको छ ।

    यसैगरी वडा नम्बर ७ मा रहेको बुद्ध प्राथमिक विद्यालय र गौतमनाथ आधारभूत विद्यालय समायोजन भई गौतमबुद्ध आधारभूत विद्यालय र वडा नम्बर ९ मा रहेको मंगलेश्वर प्राथमिक विद्यालय र विन्दावासिनी माध्यमिक विद्यालय समायोजन भई विन्दावासिनी मंगलेश्वर माध्यमिक विद्यालय भएको छ । त्यसरी गाभिएका विद्यालयमा भने बालविकास केन्द्र सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । 

    रोशी गाउँपालिकाभित्र ६९ वटा सामुदायिक विद्यालय रहेकामा पाँचवटा समायोजन गरी ६४ वटा बनाइएको छ । गाउँ शिक्षा समितिको निर्णयलाई संघीय सरकारको विद्यालय समायोजन आधार मापदण्ड समितिलाई मध्यनजर गरी कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।

    रोशी गाउँपालिकाले विद्यार्थी संख्याका आधारमा ८ वटा विद्यालयको तह घटाइएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयको तह घटाएर कक्षा १ देखि ३ सम्म अध्यापनको अनुमति दिइएको छ । जसमा वडा नम्बर ४ मा अवस्थित थानापति प्रावि, वडा नम्बर ७ मा अवस्थित जनज्योति प्रावि, खाँडादेवी प्रावि, वडा नम्बर ८ मा रहेको खार्ता महादेवस्थान प्रावि, गायत्री प्रावि, देवीश्वरी प्रावि, वडा नम्बर ९ मा रहेको भूमेस्थान प्रावि र वडा नम्बर ११ मा अवस्थित सरस्वती प्राविको तह घटाइएको छ ।

    विद्यार्थी संख्या कम भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । भौगोलिक अवस्था र विद्यार्थी संख्यालाई हेरेर केही विद्यालयलाई नजिकको विद्यालयसँग समायोजन गरेको र केही विद्यालयमा विद्यार्थी संख्या न्यून भए पनि भौगोलिक कारणले सामायोजन गर्न नमिलेपछी सुधार गर्न अनुरोध गरेको छ ।

    त्यसैगरी बनेपा नगरपालिका– ४ मा रहेको सृष्टकान्त आधारभूत विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यालयमा समायोजन गरी चण्डेश्वरी सृष्टकान्त माध्यमिक विद्यालय नामकरण गरिएको छ । वडा शिक्षा समितिको निर्णयअनुसार उक्त विद्यालय समायोजन गरेको बनेपा नगरपालिकाले जनाएको छ ।

     

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?