६ असार २०८२ शुक्रबार | 20 Jun 2025 Fri

जनचेतना बढाउने पाठ्यक्रम लागू गर्न गोकर्णेश्वर तयार, काठमाडौं प्रहरी परिसरले हस्तान्तरण गर्यो पाठ्यसामग्री



  • आफ्नै खबर
  • १४ बैशाख २०८१ शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या १३१
  • काठमाडौं/  जिल्ला प्रहरी परिसर काठमाडौं तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त साझेदारीमा जनचेतनामूलक पाठ्यक्रम २०८१ हस्तान्तरण तथा पाठ्यक्रम लागू गर्ने सम्झौता भएको छ । 

    गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले उक्त पाठ्यपुस्तक नगरपालिकाभरिका सबै विद्यालयमा सन्दर्भ सामग्रीका रूपमा कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज हस्तान्तरण एवं सम्झौता भएको यो जनचेतनामूलक पाठ्यक्रमले शान्तिसुरक्षालाई थप सुदृढ बनाउन सहयोग मिल्नेछ । यसलाई विद्यालय तहमा कार्यान्वयनमा लैजान नगरपालिका प्रतिबद्ध छ ।’

    उहाँले विद्यालयस्तरका बालबालिकालाई कुलत तथा दुर्व्यसनबाट जोगाउन जनचेतनामूलक पाठ्यक्रम २०८१ सहयोगी हुने बताउनुभयो । उक्त सामग्री सबै क्षेत्रका स्थानीय तहका विद्यालयमा पनि हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो । जनचेतनामूलक पाठ्यक्रम २०८१ लाई नगरभित्रका विद्यालयमा सन्दर्भ सामग्री एवं पाठ्यक्रमको अंशका रूपमा कार्यान्वयन गरिने नगर प्रमुख रिसालले प्रतिबद्धतासमेत जनाउनुुभयो । 

    कार्यक्रमका प्रमुख अतिथि तथा उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले पछिल्लो समय विद्यालयका बालबालिकामा दुव्र्यसन बढेको पाइएको भन्दै अभिभावकले पनि उक्त कुरामा सचेत हुन तथा आफ्ना सन्तानलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले जिल्ला प्रहरी परिसर काठमाडौं तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त साझेदारीमा जनचेतनामूलक पाठ्यक्रम तयार पारिएकाले उक्त पाठ्यक्रमले बालबालिकामा सकारात्मक सोचको विकास हुने बताउनुभयो । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले आज हस्तान्तरण गरिएको उक्त पाठ्यपुस्तक विद्यालयमा लागू भएपछि त्यसबाट विद्यार्थीमा भए–गरेका विभिन्न सकारात्मक पक्षका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले समय–समयमा अनुगमनसहित सुझाव लिई अन्य सकारात्मक कुराहरूका विषयमा काम गर्ने बताउनुभयो । 

    उहाँका अनुसार आज हस्तान्तरण तथा सम्झौता गरिएको उक्त जनचेतनामूलक पाठ्यक्रम २०८१ मा लागुऔषध दुव्र्यसनी, धूम्रपान, मद्यपान, साइबर अपराधसम्बन्धी जानकारी र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेनता, विपत् जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका संकेत र बचाउने उपाय समावेश गरिएका छन् ।