बाँके/ नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था सुरु भएपछि नेपालगन्जका होटेल भरिभराउ भएका छन् । कैलाश मानसरोवर दूरदर्शनका लागि आउने भारतीय धार्मिक पर्यटक बढेपछि नेपालगन्जका होटेल भरिएका हुन् ।
भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि भारतीय पर्यटक आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्जबाट माउन्टेन फ्लाइट सुरु गरिएलगत्तै कैलाश मानसरोवर जानका लागि ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक आउन थालेका छन् र अझै धेरैले बुकिङ गराएका छन् ।
त्यसबाट नेपालगन्जका अधिकांश ठूला होटेल भरिभराउ हुन थालेपछि होटेल व्यवसाय पुनः एकपटक फस्टाउन लागेको अध्यक्ष सिग्देलको भनाइ छ । यो साता मात्रै ५ सयभन्दा बढी भारतीय दर्शनार्थी कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्ज आएको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताउनुभयो ।
त्यसमध्ये ३ सय भारतीय आफ्नो होटेल सिद्धार्थ भ्युमा बसेको जनाउँदै उहाँले ती पर्यटकका कारण होटेल व्यवसाय फेरि फस्टाउने आशा पलाएको बताउनुभयो । उपाध्यक्ष न्यौपानेले नेपालगन्जका अन्य होटेलमा पनि २ सयभन्दा बढी भारतीय पर्यटक पुगेको बताउनुभयो ।
करिब ३ सय नेपाली धार्मिक पर्यटक पनि मानसरोवर दर्शनका लागि नेपालगन्ज आएका छन् । माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचारप्रसार हुन नसकेको जनाउँदै उहाँले पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले राम्ररी प्रचारप्रसार गर्ने हो भने नेपालगन्जले धान्न नसक्ने गरी भारतीय पर्यटक ओइरिने बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्ज भारतको लखनउ, दिल्ली, गाजियाबाद, गोरखपुर, कानपुर, बाराबंकी, आगरा र अयोध्यालगायतका ठूला सहरबाट निकै नजिक रहेकोले माउन्टेन उडानमार्फत कैलाश मानसरोवर दर्शन गर्न जानेकै कारण बाँकेको आर्थिक विकासमा ठूलो टेवा मिल्ने विश्वास लिइएको छ ।
यो महिनामा धेरै भारतीय पर्यटक नेपालगन्ज पुग्ने विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकाले आफूहरू निकै उत्साहित बनेको होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस