११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

डढेलो नियन्त्रणको लागि २ हजार किलोमिटर अग्निरेखा



  • आफ्नै खबर
  • १६ बैशाख २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या १५२
  • बाँके/  डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले २ हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा अग्निरेखा बनाएको हो । 

    उक्त अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताउनुभयो । ‘निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला र चुरे क्षेत्रमा अग्निरेखा प्रभावकारी देखिएको छ’,वरिष्ठ संरक्षण अधिकृत साहले भन्नुभयो, ‘अग्नि रेखाले निकुञ्जको वन क्षेत्रमा डढेलो फैलिन रोकेको छ ।’ 

    निकुञ्जले डढेलो नियन्त्रणलाई प्राथमिकता दिँदै विशेष तालिम प्राप्त सेना र कर्मचारी रहने गरी र्यापिड फायर टिम (आरआरटी) लाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ । निकुञ्ज क्षेत्रभित्र कुनै पनि स्थानमा डढेलो लागेको सूचना प्राप्त हुने वित्तिकै आरआरटी तत्काल पुगेर अग्नि नियन्त्रणमा जुट्ने उहाँको भनाइ छ । 

    ‘बढ्दो गर्मीसँगै निकुञ्ज क्षेत्रमा हुने आगलागीले वन्यजन्तु समस्यामा पर्ने भए पनि क्षति पुगेको विवरण छैन’, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले भन्नुभयो, ‘ठूलो आगलागीका कारण वन्यजन्तुलाई समस्या हुने गरेको छ । यो वर्ष मुगुवा, ओभरी र खैरी क्षेत्रमा बढी आगलागी भएको छ ।’

    बाँके राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र झाडी र बुट्यानसहित सुख्खा क्षेत्र भएकाले डढेलोको उच्च जोखिममा पर्छ । डढेलोको कारण संरक्षित जीव अजिङ्गर संरक्षण गर्न चुनौती बन्दै गएको छ । ठूलो आकारको जीव अजिङ्गर विस्तारै हिँड्ने भएकाले डढेलोबाट अजिङ्गरका अन्डा र बच्चा मर्ने सम्भावना बढी हुन्छ ।

    रासस