काठमाडौं/ नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेट्ने भएको छ । विराटनगरमा सम्पन्न नागरिक पेन्सन योजनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको योजनाबारे जानकारी दिनुभएको हो ।
उहाँले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको जानकारी दिनुभयो । त्यस अवधिसम्म सहभागी संख्या ६ हजार १ सय १० पुगेको छ । चालू आर्थिक वर्ष ०८०/८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगरामा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्थाअनुसार कोषले देशभरका सबै नागरिकलाई समेट्ने गरी कार्य सुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताउनुभएको हो ।
यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघसंस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसमा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको छ ।
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । बचतकर्र्ताले १५ वर्षको बचत नगदैै त्यसको ब्याज र प्रतिफलसमेत एकमुस्ट भुक्तानी लिन वा पेन्सनको रूपमा भुक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकमलाई १ सय ७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोषले अवकाश कोष व्यवस्थापन गरी सामाजिक सुरक्षासम्बन्धी राम्रा कार्यक्रम सञ्चालनमा ल्याएकाले ती कार्यक्रममा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो । उहाँले कोषले सहभागीहरूलाई प्रदान गर्ने सेवा सुविधा थप गर्न र चुस्त–दुरुस्त सेवा प्रदान गर्नुपर्नेमा जोडसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस