२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

नुवाकोट दरबार क्षेत्रमा पुग्ने भयो तादीको पानी



  • आफ्नै खबर
  • १७ बैशाख २०८१ सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या ७७
  • नुवाकोट/  तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुुरु भएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढेको हो । 

    विदुर नगरपालिका– ५ को तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर– २ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकांक्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘पानीको चरम समस्या र मुहान अभावले व्यवस्थापनमा देखिएको चुनौतीलाई लिफ्ट सिँचाइ योजनामार्फत समाधानको प्रयासमा लागेका छौँ,’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘बहुवर्षीय योजनामार्फत काम गरिने भएकाले आवश्यक थप बजेटको सुनिश्चितता र गुणस्तरीय काम गराउन नगरले पहल गर्नेछ ।’

    खानेपानी तथा सरसफाइ डिभिजन– २ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालू आवमा १ करोड रुपैयाँ बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्ममा नुवाकोट दरबार क्षेत्रमा २ लाख लिटर क्षमताको मुख्य वितरण ट्यांकीसहित एंगल ब्लक, पम्पघर, वेल्डिङ र समवेलको काम पूरा गर्ने कार्यादेश रहेको छ । यसका लागि बागमती प्रदेस सरकारबाट ८७ लाख १८ हजार रुपैयाँसहित उपभोक्तामार्फत ९ लाख ६८ हजार रुपैयाँबराबरको श्रमदानको काम हुनेछ ।

    १२ करोड रुपैयाँ लागत अनुमान गरिएको योजना सम्पन्नपश्चात् विदुर नगरपालिका– २ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन् ।