धादिङ/ सडक खनेको ४ दशकपछि धादिङको खनियाँबास गाउँपालिका– ४ किन्ताङफेदीमा पुल (बेलिब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोरदोहोर गराउन थालिएको छ ।
उत्तरी धादिङको तीन गाउँपालिकालाई प्रत्यक्ष लाभ पुर्याउने पुलको आइतबार संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । खनियाँबास– ४ र नेत्रावती डबजोङ गाउँपालिका– १ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२.६७ मिटर लामो र ४.२ मिटर चौडा रहेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो ।
वर्षाको समयमा पानी बढेपछि खोला तर्न नसक्दा उत्तरी धादिङका स्थानीयलाई सदरमुकामबाट दैनिक उपभोग्य सामान लैजानसमेत कठिनाइ थियो । बिरामी पर्दा हेलिकोप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उनीहरू अब त्यो बाध्यताबाट मुक्त भएका छन् । उत्तरी धादिङलाई जोड्न अझै दुई पुल बनाउन आग्रह गरिएको सांसद अधिकारीले बताउनुभयो ।
कुल १ करोड १० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो । पुल निर्माणकोे खर्च सुरुमा खनियाँबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गंगाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबँेसीसँग जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने उहाँको भनाइ छ ।
ट्रयाक खोलिएको झन्डै ४ दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन् । ‘पुल बनेपछि हामीलाई घरकै ढोका खुलेकोजस्तै अनुभव भइरहेको छ,’ स्थानीय प्रकाश तामाङले भन्नुभयो, ‘सडक भएर पनि पुल नहुँदा घण्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौँ । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने धोको पूरा हुने भएको छ ।’
नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री ए र थ्री बीको स्वामित्वमा रहेको बेलिब्रिज बेत्रावतीबाट ल्याएर किन्ताङफेदीमा जडान गरिएको हो । गत असोज १२ गते शिलान्यास भएसँगै नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस