७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

विद्यार्थी अभावले एउटै गाउँपालिकामा २५ विद्यालय समायोजन



  • आफ्नै खबर
  • ३ हप्ता अघि
  • पाठक संख्या ३३
  • पर्वत/  विद्यार्थी संख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्काे विद्यालयमा गाभिएको हो । 

    गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालयमध्ये २५ विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । त्यसमध्ये तीन विद्यालय भने पूरै कक्षा नै समायोजन गरिएको उहाँले बताउनुभयो । 

    विद्यार्थी संख्या घट्दै गएर कक्षाकोठा नै रित्ता हुन थालेपछि गाउँपालिकाले तह समायोजन गर्ने निर्णय गरेको थियो । यही वैशाख १२ गते गाउँ शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकको संयुक्त बैठकले विद्यार्थी संख्या कम भएका प्रावि तथा आधारभूत विद्यालयको कक्षा समायोजन गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो । 

    अध्यक्ष आचार्यका अनुसार विद्यार्थी संख्या कम रहेको जलजला– २ मा रहेको सिद्धबाबा प्राविका केही कक्षा, वडा नम्बर ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिका कक्षा, वडा नम्बर ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नम्बर ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षा शिव माविमा समायोजन गरिएको छ । 

    यस्तै, वडा नम्बर १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योतिमण्डल माविमा, वडा नम्बर २ को दिनकल्याण प्राविको १ भन्दा माथिका कक्षालाई समाजकल्याण प्राविमा, विन्ध्यवासिनी प्राविको ३ भन्दा माथिको कक्षालाई विद्याज्योति माविमा, वडा नम्बर ४ को भवानी प्राविको १ भन्दा माथिको कक्षालाई फड्के ढुंगा आधारभूत विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

    यसैगरी, वडा नम्बर ४ को सरस्वती प्राविको ३ भन्दा माथिको कक्षालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नम्बर ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिका कक्षालाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिका कक्षालाई देवीस्थान प्राविमा र धवला प्राविका सबै कक्षालाई ग्रामप्रकाश माविमा समायोजन गरिएको छ । 

    वडा नम्बर ५ को पञ्चमूल प्राविका ३ कक्षाभन्दा माथिकालाई देवीस्थान प्राविमा, गद्देश्वर प्राविको ३ भन्दा माथिका कक्षालाई मालिका आधारभूत विद्यालयमा, वडा नम्बर ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षाभन्दा माथिका कक्षालाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ कक्षाभन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वाेदय प्राविका सबै कक्षालाई भूमे प्राविमा समायोजन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र आचार्यले जानकारी दिनुभयो । 

    वडा नम्बर ७ को भूमे प्राविका ३ भन्दा माथिका कक्षा, ज्योति प्राविका १ भन्दा माथिका कक्षा, सरस्वती प्राविका १ भन्दा माथिका कक्षा र देउराली प्राविका ३ भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा समायोजन गरिएको छ । सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा समायोजन गर्ने निर्णय भएको छ । वडा नम्बर ८ को जनजागृति प्राविको १ कक्षाभन्दा माथिका कक्षाहरू जनकल्याण माविमा समायोजन गरिएको छ । 

    समायोजन गरिएका विद्यालयका कक्षामा कतै शून्य विद्यार्थी त कतै न्यून विद्यार्थी भएकाले कक्षा समायोजन गर्नुपरेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । भोलिका दिनमा विद्यार्थी संख्या बढेमा समायोजन निर्णय फिर्ता गरिने र विद्यार्थी संख्या अझै घटेमा पूरै विद्यालय नै समायोजन गरिने उहाँको भनाइ छ । 
     

    रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?