काभ्रेपलाञ्चोक/ जिल्लाको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत पर्वत शृंखलाभन्दा दक्षिणतर्फ रहेका अति दुर्गम मानिएका २ गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारलाई अघि बढाएका छन् । चालू आवमा महाभारत र खानीखोला गाउँपालिकाले कफीको पकेट क्षेत्र घोषणा गर्दै आउँदो आवमा ‘पकेट क्षेत्र’को संख्या बढाई कफी उत्पादनमा परिचित गाउँपालिका बनाउने योजनामा अघि बढेका हुन् ।
यी २ स्थानीय तह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ पालिकामा सूचीकृत छन् । महाभारत गाउँपालिकाले हाल सबै वडामा कफीखेती गर्दै आइरहे पनि ६ वटा वडा पकेट क्षेत्र बनिसकेका छन् । गाउँपालिका थप दुई वडामा दुई कफी पकेट क्षेत्र बनाउने योजनामा रहेको छ ।
गाउँपालिकाको कृषि शाखाका अनुसार यस वर्ष १ र ७ नम्बर वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीका बिरुवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिइएको छ । शाखा प्रमुख खिमबहादुर डाँगीले जिल्ला कृषि विकास कार्यालयको समीक्षा कार्यक्रममा कफीखेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रमसमेत गाउँपालिकाले गर्दै आइरहेको बताउनुभयो ।
डाँगीका अनुसार सडकको विकाससँगै कफीखेती गर्ने किसानको संख्या पनि बढ्दै गएको हो । यस वर्ष पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा कफी प्रवर्द्धन कार्यक्रम उल्लेख थियो । गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ८ मा १–१ वटा पटेक क्षेत्र स्थापना गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिई सुरुवातदेखि नै कफीखेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउँदो आवमा स्थानीय किसानको चाहनाअनुसार कफीखेती प्रवर्द्धन एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।’ उहाँका अनुसार कफी बिक्रीबाट गाउँपालिकाभित्र वार्षिक ५० हजारदेखि ७–८ लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान रहेका छन् ।
सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नम्बर २ मा सबैभन्दा बढी कफीखेती भइरहेको गाउँपालिकाको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि वडा नम्बर ३, ४, ५, ८, ६, ७ र १ मा कफीखेती हुँदै आएको हो । उक्त गाउँपालिकाका हालसम्म करिब १ हजार ५ सय किसान व्यावसायिक कफीखेतीमा संलग्न रहेका छन् । शाखाका अनुसार गत वर्ष करिब १ लाख ५० हजार किलो चेरी उत्पादन भएको थियो ।
गाउँपालिकाको १ हजार ४ सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकाले कफी किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यविधिसमेत तयार गर्ने योजना बनाएको छ । यस्तै, गाउँपालिकाले गत वर्ष किसानलाई १ लाख कफीका बिरुवा वितरण गरेको थियो भने कफीका दुई नर्सरी स्थापना गरेको छ ।
केही वर्षअघिसम्म खाद्यबालीमा आश्रित खानीखोलाका किसान मकै, कोदो, फापरलगायत बालीले वर्षभरि जीविका धान्न मुस्किल परेपछि २ वर्षदेखि व्यावसायिक कफीखेतीमा रमाउँदै आएका छन् । खानीखोला– १ हात्तीडाँडाका राजकुमार लामाले चार वर्षअघि नै कफीखेती सुरु गर्नुभएको थियो । उहाँले हाल करिब १० रोपनी क्षेत्रफलमा कफी लगाउनुभएको छ । दुई वर्षदेखि कफीबाट उत्पादन पनि निकालिएको बताउँदै लामाले हाल ८ सय किलो कफी उत्पादन गरी ३ लाख रुपैयाँ आम्दानी गर्नुभएको छ ।
यस वर्ष गाउँपालिकाका एक सय ७६ कफी किसानले अनुदान पाएका हुन् । सबैभन्दा बढी मिल्चे साना किसान कृषक समूहले कफी उत्पादन गरेको हो । सो समूहले तीन हजार एक सय ६९ किलो कफी उत्पादन गरेको थियो ।
रासस
प्रतिक्रिया दिनुहोस