काठमाडौं/ स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । लगानीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गर्नुभएको छ ।
उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्ने जनाइएको छ । यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्ने रहेको छ ।
स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । नेपालमा रहेको स्विट्जरल्यान्डको दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठूलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।
ग्लोबल आइएमई बैंकले हाल देशको ७७ वटै जिल्लामा कुल ३ सय ५४ शाखा, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस