७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

देश बनाउने भिजन एमालेसँग मात्र छ : अध्यक्ष ओली



  • आफ्नै खबर
  • ३ हप्ता अघि
  • पाठक संख्या ३२
  • इलाम  पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने भिजन र राजनीतिक सिप एमालेसँग मात्र भएको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको नीति, विकासको नीतिजस्ता हरेक क्षेत्रका नीति एमालेसँग रहेको  उहाँले दाबी गर्नुभयो ।  

    इलाममा आयोजित निर्वाचन विजयी सभालाई सम्बोधन गर्दै उहाँले एमाले सय वर्षको हुँदासम्म हरेक क्षेत्रमा नेपाल समृद्ध भइसक्ने दाबी गर्नु भयो । 

    पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पहिचानको मुद्दा उठिरहेको सन्दर्भमा हाम्रो पहिलो पहिचान नेपाली भएको बताउनुभयो । “पहिलो पहिचान नेपाली हो । धनी भए धनी नेपाली, गरिब भए गरिब नेपाली, व्यक्तिगत पहिचानले कोही सफल हुँदैन,” उहाँले भन्नुभयो, “पहिला पनि मेची, कोशी अञ्चल हुँदा त्यसरी नै त बाँडिएको थियो । यो ठुलो कुरा होइन, साझा नाम राख्दा केही बिग्रँदैन ।”

    निर्वाचनताका सुहाङलाई विपक्षी नेताहरूले ‘राजाको छोरो’ भनेर टिप्पणी गरेकोप्रति उहाँले गुनासो गर्नुभयो । ‘बाघको छोरो बाघ नभएर स्यालको छोरो बाघ हुन्छ त ?’ जिज्ञासा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “सुवासको अभावमा देशलाई परेको चोट निको पार्न, परिवारमा परेको चोट, इलामका मतदाता, जनताका परेको चोटमा मल्हम पट्टी लगाउन सुहाङलाई उम्मेदवार बनाएका हौँ, राजाको छोरा बनाउन होइन ।”  

    देशको हितका लागि विकासका लागि भविष्यमा विभिन्न पार्टीसँग सहकार्य हुन सक्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले इलाम –२ को उपनिर्वाचन सम्पन्न गर्न लाग्नुभएका इलामेली जनता, सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिनुभयो । 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?