सुर्खेत/ स्थानीय उत्पादको बजारीकरण गर्ने उद्देयले कर्णाली प्रदेशका १० वटै जिल्लामा भोलिदेखि ३ दिनसम्म औद्योगिक प्रदर्शनी हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तर्गतका १० वटै जिल्ला कार्यालयमा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।
कर्णालीमा लघु, घरेलु तथा साना उद्यमीबीच वस्तु तथा सेवाको उत्पादन, तिनको गुणस्तर, उत्पादित परिमाणबारे सरोकारवालालाई सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि र बजारीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिनुभयो ।
‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगितामा सुर्खेत उपत्यकाका २८ र उपत्यकाबाहिरका २९ गरी ५७ उद्योगले प्रदर्शनीमा भाग लिनेछन्,’ निर्देशक योगीले भन्नुभयो, ‘प्रदर्शनीमा भाग लिने उद्योगीलाई अवलोकनकर्ताले छनोट गर्नेछन् । उनीहरूले गरेको छनोटका आधारमा उत्कृष्ट तीनलाई क्रमशः ४०, २० र ३० हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।’
प्रतियोगिता सञ्चालन गर्न निर्देशनालयका लागि ३० लाख र जिल्ला कार्यालयका निम्ति २ लाख रुपैयाँ रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा दुना टपरी, खाद्य प्रशोधन, वैकल्पिक ऊर्जा, प्रांगारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेसाजन्य उद्योगका उत्पादन समावेश गरिनेछ ।
रासस
प्रतिक्रिया दिनुहोस