काठमाडौं/ पशुपति आर्यघाटमा रहेको विद्युत् शवदाहमा साउनदेखि पैसा तिर्नु नपर्ने भएको छ । आउँदो साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क हुने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिनुभएको हो ।
अति कम आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदाको पीडासँगै आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था आउन नदिने उद्देश्यअनुसार विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उहाँको भनाइ थियो । सदस्यसचिव डा. थापाले भन्नुभयो, ‘आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क गर्दैछौं ।’
सदस्यसचिव डा. थापाले सेतो सत्तल गुह्येश्वरीमा धार्मिक एवं सांस्कृतिक अध्ययन–अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो । पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्यसचिव डा. थापाले मंगलबार विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यभार ग्रहण गर्नुभएको छ ।
विशेष अदालतले मंगलबार सदस्यसचिव डा. थापासहित डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० असोज १४ गते तीनैजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस