खोटाङ/ जन्तेढुंगा गाउँपालिकामा बुवाँखोलाको पानी ५० करोड रुपैयां लागतमा लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ । संघीय खानेपानी मन्त्रालयले आव ०७९/८० मै बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनालाई रातो किताबमा समेटे पनि २ वर्षपछि मात्रै लिफ्टिङ खानेपानी आयोजनाको सर्वेक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अघि बढाइएको हो ।
६ वटा वडा रहेको उक्त गाउँपालिकाको वडा नम्बर २ बाहेक अन्य सबै वडाका नागरिकलाई पिउनेपानी उपलब्ध गराउने योजनासहित खानेपानी विभागसँगको सहकार्यमा प्रिक्सा कन्सल्टेन्सीले लिफ्टिङ आयोजनाको सर्वेक्षण पूरा गरेको छ । अब कम्तीमा २ हप्तामा डिपिआर तयार हुने जनाइएको छ ।
मन्त्रालयबाट थोरै बजेट विनियोजन हुँदा दुई वर्षसम्म आयोजनाको सर्वेक्षणको काम नभएपछि पुनः गत फागुनमा सचिव सुरेश आचार्यलाई भेटेर आयोजनाको काम अघि बढाउन आग्रह गरिएको नेपाली कांग्रेस जन्तेढुंगा पार्टी सभापति बाजिन्द्र विष्टले जानकारी दिनुभएको छ । बुवाँखोलाको चण्डीथानमाथि झोलुंगे पुलछेउबाट पहिलो मोटर राखेर १ हजार ९ सय ५८ मिटर उचाइमा रहेको भञ्ज्याङखर्कमा पानी निकाली गाउँपालिकाभित्रका बस्तीमा पानी वितरण गर्ने योजना छ ।
बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनाबाट उक्त गाउँपालिकाका एक हजार घरधुरी लाभान्वित हुने जनाइएको छ । लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि बाम्राङका मिलन राईको ५ रोपनी जग्गामा दोस्रो मोटर राखिने जनाइएको छ । बाम्राङमा राखेर सो स्थानमा पानी प्रशोधन गरेपछि त्यसको आसपासका बस्तीमा पानी वितरण गर्ने योजना बनाइएको सभापति विष्टले बताउनुभयो ।
तेस्रो मोटर थर्पुडाँडा र चौथो मोटर चुन्थेडाँडामा राख्ने गरी सर्वेक्षणको काम गरिएको जनाइएको छ । उक्त स्थानबाट अन्य वडामा पानी लैजाने गरी ठूलो ट्यांकी निर्माण गरिने र चौथो मोटरबाट भञ्ज्याङखर्कको सबैभन्दा अग्लो डाँडामा पानी निकालेर वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस