२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

म्याग्दीबाट मात्र बिक्यो २१ करोडको सुन्तला



  • आफ्नै खबर
  • २१ बैशाख २०८१ शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या ९८
  • म्याग्दी/  म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रुपैयाँभन्दा बढी नगद भिœयाएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो ।

    यस वर्ष उत्पादन भएको ३ हजार ६ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष १७ करोड रुपैयाँको सुन्तला बिक्री भएको थियो । सुन्तला प्रतिकिलो ५५ देखि ६० रुपैयाँका दरले बिक्री भएको छ ।

    बेनी नगरपालिकाबाट सबैभन्दा बढी ३ करोड ३८ लाख रुपैयाँको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट १ करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मंगला गाउँपालिकाबाट क्रमशः १ करोड ३० लाख रुपैयाँको दरले सुन्तला बिक्री भएको छ ।

    धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार तथा रघुगंगाबाट २५ लाख रुपैयाँको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताउनुभयो । बेनी नगरपालिका– ३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै २ करोड २० लाख रुपैयाँको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका– ४ को सिँगास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट १ करोड १० लाख रुपैयाँको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताउनुभयो ।

    म्याग्दीमा ८ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा ४ सय २० हेक्टरमा लगाइएको सुन्तलाको बोटले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । ‘सुन्तलाको उत्पादकत्व प्रतिहेक्टर ८.६ मेट्रिक टन रहेको छ,’ उहाँले भन्नुभयो, ‘अनुकूल मौसम, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई बिउ, मल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।’

    कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

    जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका– ३ राखुका किसान खिम पुनले बताउनुभयो । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

    यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालू आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि ६२ लाख रुपैयाँ अनुदान दिन छनोट गरेको जनाएको छ ।

    रासस