पर्वत/ पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले पशुपालक किसानलाई अनुदान दिने भएको छ । महाशिला गाउँपालिका र हेफर इन्टरनेसनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका ६ वटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई अनुदान दिइने भएको हो ।
गाउँपालकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु, भैँसीपालन गर्ने किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्ने भएको हो । उहाँका अनुसार चालू आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट सयजना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि २५ लाख रुपैयाँ प्रदान गरिनेछ ।
अनुदान लिने किसानले कम्तीमा ५ वटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान छ । अनुदानमा पालिकाका ६ वटै वडाका पशुपालन गर्ने निजी फार्म, कृषक समूह, सहकारी वा साझेदारी फार्मलाई पनि समेटिएको छ ।
त्यसैगरी, भकारो सुधार कार्यक्रमका लागि ३ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाभित्रका ५० जना किसानलाई भकारो सुधारका लागि अनुदान दिने उहाँले बताउनुभयो । कम्तीमा एउटा गाई, एकहल गोरु र एउटा भैँसी पालेका किसानलाइै ७ हजार रुपैयाँका दरले अनुदान दिइनेछ । पालिकाको एउटा वडामा १५ रोपनी क्षेत्रफलमा घाँसको स्रोत केन्द्र बनाउनका लागि १ लाख ५० हजार रुपैयाँ अनुदान दिइनेछ ।
पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बिउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ । चालू आर्थिक वर्षमा १ लाख ५० हजार बिउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिनुभयो । पालिकाले केही वर्षअघिदेखि मासु र दुध उत्पादनमा पनि अनुदान दिँदै आएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस