२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

६ वर्षपछि पुनः भोजपुर–विराटनगर उडान



  • आफ्नै खबर
  •     (१२ महिना अघि)
  • पाठक संख्या ९९
  • भोजपुर/   उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर हवाई उडान पुनः सुरु भएको छ । नेपाल वायुसेवा निगमको जहाजले आजदेखि भोजपुरबाट प्रदेश राजधानी विराटनगर उडान थालेको हो । 

    बन्द भएको ६ वर्षपछि भोजपुरबाट हवाई उडानमा विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिनुभएको थियो । उहाँका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले ९ जना यात्रु लिएर विराटनगर उडेको छ ।  

    उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले निगमले नियमित उडान गर्न जरुरी रहेको बताउनुभयो । निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौँ ।’ 

    विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ । 

    हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो । ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताउनुभयो । 

    वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा ४ हजार २९ रुपैयाँ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ–सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । ५ सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो ।  

    रासस