७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

मनाङमा पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाइम्बिङ’ परीक्षण



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४७
  • मनाङ/  अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा पर्ने दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण सम्पन्न भएको छ । चामे गाउँपालिका– ५ को छिम्बुभिर र ङिस्याङ गाउँपालिका–१ भ्राताङभिरमा रक क्लाइम्बिङ नामक साहसिक खेल परीक्षण गरिएको हो । 

    पर्यटन बोर्ड गण्डकी प्रदेशको अनुमतिमा २ फ्रान्सेली नागरिक र २ नेपालीले ती भिरमा रक क्लाइम्बिङ परीक्षण गरेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । अन्नपूर्ण पदमार्ग विश्वकै १०औँ अग्लो स्थानमा पर्दछ । 

    उहाँले भन्नुभयो, ‘रक क्लाइम्बिङ’लाई यस पदमार्गको साहसिक खेलको गन्तव्यका रूपमा विकास गर्नुपर्छ । यसले पर्यटकीय क्षेत्र मनाङको विकासमा प्राकृतिक सम्पदाको उपयोग पनि हुन्छ । त्यसैले प्रदेश सरकारले पनि ध्यान दिनुपर्दछ ।’ गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यमा साहसिक खेलले टेवा पुग्ने भएकाले सहमतिपत्र दिएर नै अगाडि बढिरहेको अध्यक्ष घलेको भनाइ थियो । 

    चामे– ५ का वडाध्यक्ष विजय गुरुङले पनि पदमार्गको आकर्षण वृद्धि र पर्यटन प्रवर्द्धनका लागि समेत रक क्लाइम्बिङको विकास तथा प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटकीय क्षेत्रमा यस्ता साहसिक खेलले पर्यटन क्षेत्रको विकास र आगमन वृद्धि हुनुका साथै मनाङको प्रचारप्रसार हुने प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले भनाइ छ ।

    ‘पालिकाबाटै अनुमति लिएर गरिएको रक क्लाइम्बिङ सफल भयो । सम्भवतः नेपालकै अग्लो भिरमा पहिलोपटक यो रक क्लाइम्बिङ हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘म आफैँ पनि आरोहणमा सहभागी भएँ । यस खेलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ । त्यसैले यस मार्गको विकास र साहसिक पदमार्गमा साहसिक खेल प्रवर्द्धनमा जोड दिनुपर्छ ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?