७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

सीप मेलामा १० हजारभन्दा बढीको आवेदन

५८ वर्ष सम्मकाले आवेदन दिन पाउने, ३ वर्षभित्रमा सबैलाई तालिम दिने कामपाको तयारी



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४३
  • काठमाडौं/   काठमाडौं महानगरपालिकाले वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजारभन्दा बढीले आवेदन दिएका छन् । कामपाले २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजारभन्दा बढीले आवेदन दिएका हुन् ।

    कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन फारम भर्ने सबैजनालाई तालिम दिने तयारी गरिएको छ । वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उहाँले जानकारी दिनुभयो । उहाँहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उहाँको भनाइ छ । 

    वैशाख २० गतेपछि फाराम भर्नेहरूको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिनुभयो । कोइरालाले भन्नुभयो, ‘मेलामा सहभागी हुनका लागि अनलाइनको माध्यमबाट करिब ५ हजारजनाले फाराम भर्नुभएको छ । विभिन्न वडाहरूबाट करिब ३ हजार २ सय र टुँडिखेलमा आएर प्रत्यक्ष रूपमा फाराम भर्नेको संख्या गरी १० हजारभन्दा बढी छ । अहिले पनि फाराम भर्न रोकिएको छैन ।’ 

    फाराम भरेकामध्येबाट २ हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी ३ वर्षसम्म तालिम दिइने उहाँले जानकारी दिनुभयो । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’अन्तर्गत सीप मेला सुरु गरिएको कोइरालाले जानकारी दिनुभयो । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघसँग सहकार्य गरेको छ ।

    मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको कामपाले जनाएको छ । मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने कामपाको विश्वास छ । १८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिनुभयो । 

    अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आउनुभएका सहभागीहरूले उक्त स्थानबाटै फाराम भर्न पाउनुपर्छ भनेपछि त्यहाँबाट पनि फाराम भरिएको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?