३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

कोराला नाकामा बल्यो बिजुली, माग नभएकाले ढिलो भएको प्रस्टोक्ति



  • आफ्नै खबर
  • २३ बैशाख २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या ११०
  • म्याग्दी/  मुस्ताङको लोमान्थाङ गाउँपालिका– १ मा रहेको चीनको सिमाना कोराला नाकामा विद्युत् सेवा विस्तार भएको छ । सामुद्रिक सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोराला नाकामा यसअघि बिजुलीको लाइन पुगे पनि ट्रान्सफर्मर जडान र वितरण नहुँदा सेवा पुगेको थिएन । 

    मुस्ताङसमेत कार्यक्षेत्र भएको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले ट्रान्सफर्मर जडान गरेपछि कोराला नाकामा बिजुली बलेको जानकारी दिनुभयो । ‘छोसेर हुँदै नेपालतर्फबाट कोराला नाकामा ३ वर्षअघि नै लाइन लगिए पनि नाका सञ्चालन नभएकाले माग भएको थिएन,’ उहाँले भन्नुभयो, ‘गत कात्तिकदेखि सञ्चालनमा आएको कोराला नाकामा विद्युत्को आवश्यकता महसुस भएपछि २५ केभिए क्षमताको ट्रान्सफर्मर राखेर विद्युत् प्रयोग गर्न मिल्ने व्यवस्था मिलाएका छौँ ।’

    ट्रान्सफर्मर जडान गर्न सशस्त्र प्रहरी र नेचुङका नेपाल प्रहरीले सहयोग गरेको प्रमुख काफ्लेले बताउनुभयो । बिजुली सुविधा भएपछि नाकाको सुरक्षामा खटिने सुरक्षाकर्मीलगायत अन्य व्यवसायका लागि जाने व्यवसायीलाई समेत सहज भएको छ । 

    प्रतिकूल मौसमका बाबजुद संरचना तयार पारेर विद्युत् आपूर्ति हुने व्यवस्था मिलाइएको तातोपानी वितरण केन्द्रका इन्जिनियर उत्तम अधिकारीले बताउनुभयो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नर्बु गुरुङले विद्युत् पुगेपछि कोराला नाकामा नेपाल टेलिकमसँग समन्वय गरेर मोबाइल सेवा पनि विस्तारको पहल गरिएको बताउनुभयो । 

    मुस्ताङ जिल्लामा प्राधिकरणको स्थानीय कार्यालय नभएकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको घरापमा रहेको तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरि उपभोक्ता सहकारी संस्था लिमिटेडले विद्युत् सेवा दिँदै आइरहेको छ ।