काभ्रेपलाञ्चोक/ पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो असार मसान्तभित्र पाँचखालका ६ हजार परिवारका साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ ।
निर्माणाधीन उक्त खानेपानी आयोजना भौतिकतर्फ करिब ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । नगर विकास कोषले शुक्रबार आयोजनाका लागि अपुग रकम थप ७ करोड ४३ लाख रुपैयाँ उपलब्ध गराएको छ । थपिएको रकमका लागि शुक्रबार उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेसहित समिति पदाधिकारी, नगर विकास कोष प्रमुख कृष्णप्रसाद सापकोटा र नगरप्रमुख महेश खरेलबीच त्रिपक्षीय सम्झौता भएको छ ।
उक्त रकमबाट आयोजनाको बाँकी निर्माण पूरा भई आयोजना सम्पन्न हुने समिति अध्यक्ष लामिछानेले बताउनुभयो । उहाँका अनुसार हाल योजनाको कार्य अन्तिम चरणमा पुग्दा प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ ।
यस्तै, प्रतिघण्टा ३ लाख २ हजार लिटर पानी तान्न सहज ढंगबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताउनुभयो । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो ।
के–के काम सकियो ?
आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा ६ वटा इनार, ४–४ लाख लिटर क्षमताको २ पानी संकलन ट्यांकी, ३ लाख लिटरको ब्याकवास ओभरहेड ट्यांकी, १० नयाँ वितरण ट्यांकी, ६ ब्रेक प्रेसर ट्यांकी तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ ।
५ वटा जेनेरेटर राख्ने घर, ट्यांकी वरपर पर्खाल तथा तारबार लगाउने, ६ किलोमिटर पानीको मुख्य प्रसारणलाइन, ३७ किलोमिटर शाखा प्रसारणलाइनमध्ये ३५ किलोमिटर, २ सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म २ सय २० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ ।
कुल ६ हजार ३७ धारामध्ये हालसम्म ३ हजार ५ सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । उहाँका अनुसार हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, ७ बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी संकलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका– १० बिमिरेमा सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो । १ अर्ब ४७ करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट हाललाई पाँचखाल नगरपालिकाको वडा नम्बर २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का ६ हजार ३७ घरधुरीका ३१ हजार ४ सय नागरिक लाभान्वित हुनेछन् । जसमध्ये दैनिक प्रतिव्यक्ति १ सय ९२ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ ।
रासस
प्रतिक्रिया दिनुहोस