चितवन/ चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको छ । स्थानीय किसानले उत्पादन गरेको दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले उक्त निर्णय गरेको हो ।
गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ । गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोेग गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिंक्स’भन्दा दही र मोही प्रयोग गर्न सके स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सकिन्छ भनेर हामीले यो काम गरेका हौँ, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ ।’
अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिनुभयो । गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र तयारी बोतलबन्द ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको हो । अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
पशुपालनमा प्रोत्साहन
यसैबीच गाउँपालिकाले पशु सुत्केरी सुधार र बिमा कार्यक्रमसमेत सञ्चालन गरेको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दुधको उत्पादन बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
आन्तरिक स्रोतमार्फत गाईभैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम सञ्चालन गरिएको हो । कृत्रिम गर्भधारण कार्यक्रमबाट सुत्केरी भएका गाईभैँसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउनेछ । बढी दुध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरूप पुरस्कार उपलब्ध गराउने तयारी रहेको अध्यक्ष गुरुङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस