७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

नेपालगन्ज एकीकृत जाँचचौकी सञ्चालनमा



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ३८
  • बाँके/  नेपालगन्जमा एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएको छ । जाँचचौकीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक कार्यक्रमबीच शुभारम्भ गर्नुभएको हो ।

    आइसिपीको सुरुवात गर्दै मन्त्री भण्डारीले जाँचचौकी स्थापनापछि राजस्व संकलनमा वृद्धि र अवैध ओसारपसार नियन्त्रण र व्यापार पारवहनको क्षेत्रमा समेत उल्लेख्य योगदान पुग्ने बताउनुभयो । उहाँले आन्तरिक राजस्व संकलन हुन नसकेको र व्यापारघाटा बढिरहेको अवस्थामा आयात तथा निर्यातमा समेत जाँचचौकी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले लक्ष्यको आधा हिस्सा पनि राजस्व उठ्न नसकेको भन्दै खुला सीमाबाट हुने वस्तुको आयातसमेत व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । 

    कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जाँचचौकी सञ्चालनपछि अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुनुका साथै अवैध क्रियाकलाप रोक्न सहयोग पुग्ने बताउनुभयो ।

    नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जाँचचौकी स्थापनाले चौरी–पैठारी रोकथाममा कडाइ हुने विश्वास व्यक्त गर्दै भारतबाट १ सयको सामान ल्याउनेहरूलाई भने सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै, उद्योगसचिव कृष्णबहादुर रावत, भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलालगायतले जाँचचौकी सञ्चालनबाट लाभ लिन आग्रह गर्नुभयो । 

    एकीकृत जाँचचौकीमा कुल आयाततर्फ २ सय र निर्याततर्फ ७५ ट्रकका लागि पार्किङ क्षेत्र, भन्सार, अध्यागमन, क्वारेन्टिन, भन्सार सुरक्षा, अपरेटर कम्पनी, बैंक सञ्चालनलगायत कार्यका लागि भवन निर्माण गरिएका छन् । साथै मालवस्तु आयातको भण्डारणका लागि तीन गोदाम, एप्राइजल सेट, विद्युतीय सबस्टेसन, धर्मकाँटालगायत महत्वपूर्ण पूर्वाधार निर्माण गरिएका छन् । 

    करिब २ अर्ब भारतीय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जाँचचौकीको ०८० साल जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । नेपाल–भारतका चार सीमानाका विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा दुवैतर्फ समान रूपमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच २० वर्षअघि भएको समझदारीअनुरूप वीरगन्ज र विराटनगरमा एकीकृत जाँचचौकी निर्माणकार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । 

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?