७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

पोखरामा पर्यटकको बसाइ लम्ब्याउन फेवावरिपरि पदमार्ग



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४७
  • कास्की/  पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ फेवाताल किनारामा भ्यु फेवा, राउन्ड फेवा पदमार्गको काम अघि बढेको छ । पदमार्गको काम गण्डकी प्रदेश सरकारको सहयोगमा सुरु भएको हो । 

    फेवा ड्याम साइडमा रहेको वनस्पति पार्कबाट रानीवन हुँदै अनदुसम्मका लागि पदमार्ग बनाउन सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएर काम सुरु गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले जानकारी दिनुुभयो । यस आर्थिक वर्षमा करिब ३ किलोमिटर दूरीको पदमार्ग तयार हुने उहाँको भनाइ छ । उहाँले उक्त मार्गका १० स्थानमा काठेपुल राख्नुपर्ने देखिएको बताउनुुभयो । हालसम्म लगभग दुई किलोमिटर पदमार्ग तयार भइसकेको छ । 

    यसैबीच, निर्माणाधीन पदमार्गको आज मन्त्रालयका प्रतिनिधि एवं पर्यटन व्यवसायीले स्थलगत अवलोकन गरेका छन् । गण्डकी प्रदेशका पूर्वउद्योग, पर्यटन, वन तथा वातारणमन्त्री दीपेन्द्रबहादुर थापा, मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पर्यटन निर्देशनालयका पदाधिकारी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीलगायत पर्यटन व्यवसायीले निर्माण कार्यको अवलोकन गर्नुभएको हो ।

    पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पर्यटकीय पूर्वाधार आवश्यक रहेको र यो पदमार्ग बहुउपयोगी बन्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनुुभयो । ‘पोखरामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधार बन्नु अपरिहार्य छ,’ उहाँले भन्नुभयो, ‘भ्यु फेवा, राउन्ड फेवा पदमार्ग पोखराको पर्यटनमा महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ ।’

    पदमार्ग निर्माणसँगै पोखरामा आएका पर्यटकले छोटो समयमा हिमाल, ताल र पोखराबजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउनेछन् । पोखरालाई आधार बनाएर आसपासका अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, घोरेपानी, पुनहिल आदि पदमार्गमा यात्रा गर्न जाने पदयात्रीका लागि पनि पूर्वअभ्यासका लागि यो पदमार्ग उपयोगी बन्ने विश्वास लिइएको छ । यस पदमार्गलाई ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्म पुर्याउने लक्ष्य लिइएको छ ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?