२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

अनुदानले बढ्यो बायोग्यासमा आकर्षण



  • आफ्नै खबर
  •     (१२ महिना अघि)
  • पाठक संख्या १०१
  • झापा/  बुद्धशान्ति गाउँपालिकामा बायोग्यास प्रयोगकर्ता बढेका छन् । किसानका लागि वडाले अनुदान कार्यक्रम ल्याएपछि पशुपालक किसानले बायोग्यासको प्रयोग बढाएका हुन् । 

    बुद्धशान्ति गाउँपालिका– १ मा यो कार्यक्रम लागू भएसँगै बायोग्यास प्रयोगकर्ता बढेको वडाध्यक्ष अनिल वाग्लेले बताउनुभयो । वडाको दीर्घकालीन योजनाअन्तर्गत किसानलाई १० हजार रुपैयाँ अनुदान दिएपछि आव ०८०/८१ मा बायोग्यास जडान गर्न किसान आकर्षित भएका हुन् । 

    पशुपालक किसानलाई सुविधा होस् भनेर वडाले गाईभैँसीको ‘एआई’ सेवामा सहुलियत दिएको वडाध्यक्ष वाग्लेले बताउनुभयो । कृत्रिम गर्भाधान सेवामा किसानको १ सय रुपैयाँ र वडाले ३ सय रुपैयाँ अनुदान दिएको वडाध्यक्ष वाग्लेले बताउनुभयो । वडा कार्यालयको अनुदान रकमको व्यवस्थापन, लोककल्याण बायोग्यास कम्पनी र मुनाल बायोग्यास कम्पनीसँगको सहकार्यमा वडा नम्बर १ का २९ घरमा गोबरग्यास प्लान्ट स्थापना गरिएका छन् । 

    किसानको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा पनि अनुदानको व्यवस्था गरिने वडाध्यक्ष वाग्लेले बताउनुभयो । घरघरमा बायोग्यास जडान गरिएसँगै सिलिन्डरको ग्यास खपत घट्ने मुनाल बायोग्यास कम्पनीका महाप्रबन्धक श्याम खनालले बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘बायोग्यास प्रयोग गर्दा बिनालगानी लामो समयसम्म ग्यास प्रयोग गर्न सकिने र गोबरबाट कम्पोस्ट मल बनाउन सकिने हुँदा किसानलाई दोहोरो फाइदा हुन्छ ।’ 

    लोककल्याण बायोग्यास कम्पनी, मुनाल बायोग्यास कम्पनी तथा वडा कार्यालय र उपभोक्ताको त्रिपक्षीय कार्यक्रमअन्तर्गत कुल २१ लाख २४ हजार रुपैयाँको लागतमा २९ घरमा बायोग्यास स्थापना भइरहेका छन् । 

    रासस