काभ्रेपलाञ्चोक/ जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले असल श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलनसहित सम्बोधन गर्ने योजनासहित कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
कल सेन्टरमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका कामकारबाहीबारे जिज्ञासा तथा सरोकारवालालाई जानकारी दिइने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानमा पहल गरिने गाउँपालिकका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँका अनुसार कल सेन्टरको सञ्चालनबाट गाउँपालिकामा रहेका निकायका कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह भई सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने अपेक्षा गरिएको छ ।
यस्तै, दैनिक रूपमा प्राप्त हुने गुनासालाई सुनुवाइ गरी तत्काल सम्बोधन गर्न, जानकारी लिन वा गुनासो सेन्टरबाट सम्बद्ध निकायमा सम्पर्क एवं समन्वय गर्न र सम्बन्धित निकायले समेत तत्काल सम्बोधन गरे–नगरेको विषयमा गाउँपालिकाबाट नियमित अनुगमन एवं ताकेता गर्न सकिने व्यवस्था मिलाइएको थिङले बताउनुभयो ।
यसका लागि गाउँपालिकाको केन्द्र साल्मेचाकलमा सेवाग्राहीले सेन्टरका निःशुल्क फोन तथा सेन्टरको क्युआर कोड स्क्यानमार्फत निःशुल्क गुनासो गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस