७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

एउटा भैँसी पाल्दा ५० हजार अनुदान पाउने



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ५१
  • पर्वत/  पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिने भएको छ । गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका १६ जना किसानलाई प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गर्न लागेको हो । 

    गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैँसी ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको बताउनुभयो । यसअघि राँगा पालेका प्रत्येक किसानलाई २० हजार रुपैयाँ अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताउनुभयो ।

    ७ वटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले ३ देखि ४ वटासम्म राँगा पालेका छन् । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई ४ लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।

    यसअघि राँगापालक किसानको प्रोत्साहनका लागि पैयुँ पालिकाले अनुदान रकम घोषणा गरेको थियो । पालिकामा किसानले एउटा भैँसीलाई राँगो लगाएको १ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन् । अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीका आधारमा मूल्य निर्धारणका लागि काम थाल्ने गाउँपालिकाले बताएको छ । 

    रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?