७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

थारू महिला अर्गानिक तरकारी खेतीमा आकर्षित



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४६
  • बाँके/  अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारू महिला आफैँले उत्पादन गरेर बजारमा पु¥याउन थालेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् । 

    नेपालगन्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारू महिला आकर्षित भइरहेका बाँके खजुरा– ४ की रामदुलारी थारूले बताउनुभयो । उहाँले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको जानकारी दिनुभयो । 

    बाँकेको नौबस्तामा घरवरिपरि तरकारी खेती गरिरहेकी वसन्ती थारू उत्पादित तरकारी एकाबिहानै नेपालगन्ज ल्याएर बिक्री गर्नुहुन्छ । त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ल्याएको ताजा तरकारी नेपालगन्जको पुष्पलाल चोकमा केही समयमै बिक्री हुने गरेको बताउनुभयो । 

    बर्दियाको बढैयाताल गाउँपालिका– ३ का महिला वडासदस्य दुसानी थारूले दैनिक बर्दियाबाट नेपालगन्ज अर्गानिक तरकारी ल्याएर बिक्री गर्दै आउनुभएको छ । उहाँले हरेक दिन बिहानै नेपालगन्जको सडकमा तरकारी बिक्री गर्न थालेको वर्षौँ भइसकेको बताउनुभयो । 

    महिला उद्यमीका साथै वडासदस्यसमेत रहनुभएकी थारूले भन्नुभयो, ‘म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १० वर्षदेखि कृषि पेसामा आबद्ध छु । अर्गानिक तरकारी साइकलमा राखेर नेपालगन्ज ल्याएर बिक्री गर्दै आएकी छु ।’ स्थानीय चुनावमा महिला सदस्यका रूपमा निर्वाचित भएपछि तरकारी खेती गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ भनेर महिला दिदीबहिनीलाई सम्झाउने गरेको उहाँ बताउनुहुन्छ । 

    आफू जनप्रतिनिधि भए पनि कृषि पेसामा रमाइरहेको भन्दै दुसानीले बिहानभरि नेपालगन्जमा तरकारी बिक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताउनुभयो । पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगन्जसम्म आउने गरेकामा अहिले भने गाडीको प्रयोग गर्न थालेको उहाँको भनाइ छ ।

    नेपालगन्जको धम्बोझीमा रहेको सिटिजन्स बैंकअगाडि सडकपेटीमा महिलाले तरकारी बजार लगाउने गरेका छन् । सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि नगर प्रहरीले लखेट्ने गरेको दुसानीले गुनासो गर्नुभयो । 

    तरकारी बिक्रीबाटै पाँचजनाको परिवारको जीविकोपार्जन भइरहेको दुसानीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरिरहेकी छु ।’ 

    स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवद्र्धन गर्नुपर्ने र बिक्री–वितरणका लागि छुट्टै स्थान बनाइदिनुपर्ने उहाँको माग छ । नेपालगन्ज सडकमा दुसानी थारूजस्ता धेरै किसान बाँके र बर्दियाबाट एकाबिहानै तरकारी ल्याएर बिक्री–वितरण गर्दै आएका छन् ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?