७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

लोपोन्मुख र सीमान्तकृतको निःशुल्क स्वास्थ्य बिमा



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४९
  • मकवानपुर/  बागमती प्रदेश सरकारले लोपोन्मुख, सीमान्तकृत र अपांगता भएका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा पछाडि परेका लोपोन्मुख जाति, सीमान्तकृत समुदाय, आश्रममा आश्रित, अपांगता र महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलगायतलाई निःशुल्क स्वास्थ्य बिमा गराएको हो ।

    आव ०७९/८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उक्त लाभान्वित समूहका १७ हजार ७ सय ३२ परिवारको स्वास्थ्य बिमा गरिएको छ । बिमा गरिएकाहरूको प्रिमियमबापत हालसम्म बिमा कम्पनीलाई ६ करोड २२ लाख ५१ हजार रुपैयाँ भुक्तानी गरिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले बताउनुभयो । 

    सूचना अधिकारी भुसालका अनुसार प्रदेश सरकारले १३ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत हालसम्म सबैभन्दा बढी दोलखामा ३ हजार ४ सय ५२ परिवारको स्वास्थ्य बिमा गरिएको छ । सबैभन्दा कम मकवानपुरमा १ सय १ परिवारको स्वास्थ्य बिमा भएको छ । 
    प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत चितवनमा ३ हजार १ सय २७, सिन्धुपाल्चोकमा २ हजार ५ सय ९८, धादिङमा १ हजार ५ सय ९३, काभ्रेपलाञ्चोकमा १ हजार ५ सय ४९, काठमाडौंमा १ हजार २ सय ६, रामेछापमा १ हजार २ सय ९० परिवारले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी, ललितपुरमा ९ सय ४८, नुवाकोटमा ९ सय ३, सिन्धुलीमा ६ सय ४९, रसुवामा २ सय २५ र भक्तपुरमा १ सय ५ परिवारको स्वास्थ्य बिमा गरिएको छ । 

     

    लोपोन्मुख जाति, अति सीमान्तकृत समूह, आश्रममा आश्रित, अपांगता भएकाको प्रिमियमबापतको सम्पूर्ण रकम प्रदेश सरकारले बिमा कम्पनीलाई बुझाउने कार्यविधिमा व्यवस्था छ । प्रत्येक स्थानीय तहको वडामा खटिएका दर्ता सहयोगीमार्फत लक्षित परिवारको खोजी गरी स्वास्थ्य बिमा गर्ने गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालबाट बिमा गराएको परिवारले वर्षमा १ लाख रुपैयाँसम्मको निःशुल्क औषधोपचार पाउनेछन् ।

    रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?