७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

जैमिनीका किसानलाई नगरपालिकाले बनायो उद्यमी



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ५४
  • बागलुङ/  बागलुङको जैमिनी नगरपालिकाले नगरवासी किसानलाई उद्यमी वनाएको छ । नगरपालिकाको वडा नम्बर ३ दमेकको नौला, कालापातल, दहलगायत क्षेत्रमा हिउँद–बर्खा दुवै याममा उत्पादन हुने आलुलगायतका उत्पादनले किसानलाई उद्यमी बन्ने बाटो खुलेको हो । 

    केही वर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलु नै मुख्य स्रोत थियो । उपल्लो दमेकको उत्पादन आलु मात्रै नभई मकै, कोदो, सिस्नो र बाँको पनि हुन् । 

    पुर्खाले जे–जसरी उपभोग गर्न सिकाए उसैगरी यहाँका नागरिकले उत्पादनको उपभोग गरे पनि जमाना फेरिएको छ । पहिलेजस्तो आलु साट्न कालापातल कोही पुग्दैनन् । चामल खानकै लागि कालापातलवासीले आलु साट्न आउनेलाई कुर्नुपर्दैन । आजभोलि दमेकको आलुको चिप्स, सिरिम्ले मकै ब्रान्ड भएको र सिस्नोको धुलो विदेश निर्यात हुन्छ । 

    नगरपालिकाले आफ्ना नागरिकलाई उद्यमी बनाउने अभियानअन्तर्गत रैथाने र परम्परागत बालीलाई आधुनिक उपभोग्य वस्तु बनाउन सिकाएको छ । नगरले उद्यमशीलता तालिम सञ्चालन गरिरहेको छ ।

    स्थानीय तहमा रहेका कच्चापदार्थको उपयोग गर्दै नागरिकलाई आम्दानीसँग जोड्न विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । दमेकमा आलु चिप्स, दालमोठ, भुजिया, फुरनदाना, नमकिन, चना र फ्राई चिउरा बनाउने तालिम नगरपालिकाले सञ्चालन गरेको थियो । 

    त्यसपछि दमेकवासीले आलु चिप्स विदेश निर्यात गर्न थालेका छन् । ‘१ सय ५० रुपैयाँमा बिक्री हुने आलुको चिप्स बनाउँदा १ हजार रुपैयाँ आउँछ, किसानलाई धेरै फाइदा भएको छ,’ वडाध्यक्ष कृष्णबहादुर भुजेलले भन्नुभयो, ‘हाम्रो वडाका नागरिक केही न केही निर्यात गर्छन्, जसको आम्दानीले खर्च चलेको छ ।’

    गरिबी निवारणका लागि जैमिनीमा सञ्चालित लघुउद्यम विकास कार्यक्रमले उद्यमी बन्न प्रेरित गर्ने नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । उद्यमशीलताको विकासका लागि नगरपालिकाले लगानी गर्ने उहाँको भनाइ थियो । कृषिजन्य वस्तुको उत्पादन, बजारीकरण र प्रवर्द्धन गर्नका लागि कृषकसँग सहकार्य गर्नुपर्ने चर्चा गर्दै नगरप्रमुख पुनले नगरले दिएको सीपलाई नागरिकले व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । 

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?