२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

महोत्तरीका किसानले पाए उखुको पूरै भुक्तानी



  • आफ्नै खबर
  • २७ बैशाख २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या १११
  • महोत्तरी/  महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला– १ मा रहेको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखुको भुक्तानी दिएको हो ।

    उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् । ‘यसपालि उखु मिलबाट सबै रकम पाइयो,’ भंगाहा– ४ रामनगरका किसान अरुण गिरी भन्नुहुन्छ, ‘तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौँ ।’ आफ्नो उत्पादनले कति मूल्य पाउने भन्ने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउनुपरेको गिरीलगायतका किसानको गुनासो छ । 

    उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहले यो शैली अवैज्ञानिक रहेको बताउनुभयो । बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्यांकनलाई मूल्य निर्धारणको आधार बनाइनुपर्ने उहाँ बताउनुहुन्छ । 

    अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्रीमूल्य र खेतीको लागत मूल्यांकनका आधारमा प्रतिक्विन्टल कमसेकम ७ सय रुपैयाँ पाउनुपर्ने माग गरेका थिए, तर सरकार र उद्योगबीचको सहमतिपछि मूल्य ६ सय १० रुपैयाँ कायम भएको छ । जसमा ५ सय ४० रुपैयाँ उद्योगले दिने र ७० रुपैयाँ सरकारले अनुदानबापत दिने गरेको छ । किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानबापतको रकम पाउन बाँकी छ । 

    उखुको भुक्तानी सहज भएपछि पछिल्ला २ वर्षयता जिल्लामा खेती बढ्दै गएको छ । १ दशक अघि १८ हजार बिघामा उखुखेती हुने गरेको थियो । उत्पादनको भुक्तानी सहजै प्राप्त हुन थालेपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहले बताउनुभयो । 

    एभरेस्ट चिनी उद्योगका वित्तीय प्रबन्धक विमलचन्द्र ठाकुरले यसपालि १२ हजार ५ बिघामा गरिएको उखु उद्योगले खरिद गरेको जानकारी दिनुभयो । उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटबाट पनि उखु खरिद गर्दै आएको छ ।

    रासस