सुर्खेत/ कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेविहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले पत्रकार भेटघाट कार्यक्रममार्फत ‘ओलम्पिक डे’को अवसर पारेर आगामी असार ७ गते हाफ म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।
प्रतियोगिताबारे जानकारी दिँदै कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रमोदजंग हमालले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, खेल क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी थालिएको बताउनुभयो ।
हमालले भन्नुभयो, ‘खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न र यहाँको आर्थिक समृद्धिमा यसले ठूलो सहयोग पुग्ने अपेक्षाका साथ म्याराथन दौड प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’ प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै यहाँका सबै विद्यालयहरूको प्रतिनिधित्व हुने गरी २ हजार विद्यार्थी सहभागी गराइने उहाँले जानकारी दिनुभयोे ।
मिड वेस्टर्न फिटनेस सेन्टरका अध्यक्ष सञ्जीव हमालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः १ लाख, ५० हजार, ३० हजार र २५ हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो । प्रतियोगिताको पाँचौँदेखि दशौँ स्थानसम्म आउने खेलाडीलाई जनही २५ हजार रुपैयाँ नै प्रदान गरिने उहाँले बताउनुभयो ।
अध्यक्ष हमालका अनुसार प्रतियोगितामा सहभागी हुन आउने सुर्खेतबाहिरका सबै खेलाडीलाई आयोजकले नै खाना तथा आवासको व्यवस्था गर्नेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा प्रदेश सरकारको ३ लाख रुपैयाँ र बाँकी आयोजकले व्यवस्थापन गर्ने गरी १५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस