१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

काठेखोलाको उद्योगग्राममा प्रांगारिक मल उत्पादन



  • आफ्नै खबर
  • २७ बैशाख २०८१ बिहिबार (७ महिना अघि)
  • पाठक संख्या ६०
  • बागलुङ/  काठेखोला गाउँपालिकाले उद्योगग्राम सञ्चालन गरी सोहीमार्फत पहिलोपटक प्रांगारिक मल उत्पादन गर्न थालेको छ । बागलुङको काठेखोला– ७ रेसमा रहेको उद्योगग्राममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलोपटक प्रांगारिक मल बनाउन थालिएको हो । 

    काठेखोला– ७ का वडाध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ दर्जन युवाले जंगलमा खेर गइरहेको पात, पतिंगर र झाडी संकलन गरी प्रांगारिक मल बनाउन थालिएको छ । पहिलो चरणमा २ हजार ५ सय केजी मल बनाउन थालेका छौँ । उक्त मललाई रेसको चिया बगानमा प्रयोग गरिने र चियाको उत्पादन बढाउने योजना छ ।’

    जंगलको झाडी र पतिंगर संकलन गरेर उद्योगग्राममा जम्मा गरी कृषि प्राविधिकको सल्लाहमा प्रांगारिक मल बनाउन प्लास्टिकका ठूला थैलोमा प्याकिङ गरिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ३ महिनाभित्र प्रांगारिक मल तयार भइसक्नेछ । पहिलोपटक उद्योगग्राममा उत्पादन हुने सबै प्रांगारिक मल रेसका वडावासी किसानलाई सुपथ मूल्यमा प्रदान गरिनेछ ।

    प्रांगारिक मल उत्पादनमा रेस वडा कार्यालयले प्राविधिक सहयोग गरेको छ भने जनशक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परिचालन गरिएको हो । उद्योगग्राममा पहिलो उद्योगका रूपमा प्रांगारिक मल उद्योग खोल्ने तयारीअनुसार परीक्षणका लागि मल उत्पादन गर्न सुरु गरिएको जनाइएको छ ।

    उद्योगग्राममा आवश्यक टहरा निर्माण, सडक पु¥याउने, विद्युतीकरण गर्नेलगायत काम गत वर्ष नै सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँमा खेर गइरहेको पतिंगरलाई मल बनाउन सकिने भएपछि आयातित मलको प्रयोग घटाउने र स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले प्रांगारिक मल उत्पादन गरी अग्र्यानिक कृषि उपज बढाउने योजना बनाइएको वडा कार्यालयले जनाएको छ ।

    काठेखोला गाउँपालिकाले उद्योगग्रामका लागि ५० करोड रुपैयाँको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएको छ । अहिले निर्माण भइरहेको संरचनामा सञ्चालन गर्न सकिने स–साना उद्योगहरूको योजना पालिकासँग रहेको बताउँदै वडाध्यक्ष लामिछानेले पालिकाको उद्योगग्राम भए पनि वडास्तरीय स–साना उद्योग स्थापना गर्न थालिएको जानकारी दिनुभयो । उहाँले प्रांगारिक मल बनाउन थालेको उद्योगग्राममा चिया प्रशोधनसमेत गरिने बताउनुभयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?