१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

जडीबुटीको ‘शैक्षिक हब’ बन्दै झाँगाझोली



  • आफ्नै खबर
  • २७ बैशाख २०८१ बिहिबार (७ महिना अघि)
  • पाठक संख्या १००
  • तनहुँ/  शुक्लागण्डकी नगरपालिका– ६ को झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो ।

    करिब ५ रोपनी क्षेत्रफलमा २ सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पतिलगायतका बिरुवाबारे जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोली एग्रो टुरिजम प्रा.लि.का सञ्चालक उज्ज्वल पौडेलले जानकारी दिनुभयो ।

    उक्त उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, निम, बोझो, टिमुर, लोडसल्लालगायतका महँगा र औषधिजन्य जडीबुटी लगाइएको छ । विशेष तरिकाले निर्माण गरिएको उद्यानमा विभिन्न जातका जडीबुटी र वनस्पति रहेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका– ३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाउँमा उक्त उद्यान स्थापना गरिएको हो ।

    अहिले यस स्थानमा सार्वजनिक बिदाका दिनमा ५ सय बढी र अन्य दिनमा २ सयको हाराहारीमा आन्तरिक पर्यटक घुम्न आउने गर्छन् । त्यसैगरी ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा लगाएर फलफूलको नामसहितको सुन्दर बगँैचासमेत स्थापना गरिएको छ । दुई सय बढी लोपोन्मुख चिनारीसहितको संग्रहालयसमेत सञ्चालन गरिएको छ । धेरै जातका जडीबुटी र फलफूलका बिरुवा एकै स्थानमा देख्न र चिन्न सकिने भएकाले पर्यटक गन्तव्यस्थलको रूपमा परिचित हुँदै छ ।

    पौडेलका अनुसार करिब १ करोड ५० लाख रुपैयाँको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जंगलको हरियाली र चुराचुरुंगीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक बढ्न थालेका छन् । 

    विभिन्न देवीदेवता, वन्यजन्तुहरूको मूर्ति निर्माण गरी जानकारी लिनका साथै घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ । रुद्रकुण्ड, रुद्रघन्ट मठमन्दिरसमेत रहेको गौरादेवी यस उद्यानबाट पर्यटकले भरपूर मनोरञ्जन लिन सक्छन् । पारिवारिक वातावरणमा अग्र्यानिक खाना र आरामदायी बसाइका लागि समेत उत्कृष्ट गन्तव्य बनेको सञ्चालक पौडेलको भनाइ छ ।

    रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?