१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘भाले बास्ने ताल’ पुग्ने पदमार्ग बन्यो



  • आफ्नै खबर
  • २८ बैशाख २०८१ शुक्रबार (७ महिना अघि)
  • पाठक संख्या ७३
  • म्याग्दी/  मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने ताल’ पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेँसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो । 

    राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित उक्त ताल मालिका– ६ र मंगला– २ को सिमानामा पर्दछ । गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले १३ लाख ५० हजार रुपैयाँ लागतमा २ किलोमिटर ढुंगाको सिँढीसहित पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । ‘पदमार्ग नहुँदा जोखिम मोलेर ताल र मन्दिरमा जानुपर्ने अवस्था थियो,’ उहाँले भन्नुभयो, ‘पदमार्ग बनेपछि हिँडेर सहजै ताल भएको स्थानसम्म पुग्न सकिन्छ ।’ 

    चालू आवमा विनियोजन भएको ४ लाख ५० हजार रुपैयाँ बजेटबाट ७ जना सूचीकृत बेरोजगारसहित ५० जना कामदार परिचालन गरेर भिरमा सिँढीसहित ५ सय ५० मिटर लामो पदमार्ग निर्माण भएको छ । यसअघि आव ०७७/७८ र आव ०७८/७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ९ लाख रुपैयाँ बजेटबाट १.५ किलोमिटर पदमार्ग निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ । 

    घना जंगलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ । झरनाको दायाँतर्फ पर्ने जंगलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मंगला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मंगला गाउँपालिका पर्दछ । दुवैतिर घना जंगल छ । 

    यस्तो छ किंवदन्ती
    झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका– ६ दुखुबेँसीका बासिन्दा एवं पदमार्ग निर्माण समितिका अध्यक्ष गंग रोकाले बताउनुभयो ।

    ‘यो तालको सिरानमा रहेको मन्दिरवरिपरिको जंगली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ, बास्छ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी छैन,’ उहाँले भन्नुभयो, ‘मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तालआसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ ।’ 

    ‘किंवदन्तीअनुसार २ शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइ भरिया लिएर ताल अवलोकन गर्न गएछन् । तालनजिकै एउटा घर देखेर राति त्यहीँ विश्राम गरेछन् । बिहान कुखुराको भाले बासेकोे आवाजले उनीहरू ब्युँझिँदा दुवैजना ढुंगामा सुतेको अवस्थामा आफूलाई पाएछन् । आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएपछि सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ । 

    कसरी पुग्ने ?
    बेनीबाट करिब १ घण्टामा सवारीसाधनमार्फत सहस्रधारा पुगिन्छ । सहस्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट करिब एक घण्टा पैदल यात्रा गरेपछि यो ताल पुग्न सकिन्छ । जंगल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने भएपछि तालको प्रवर्द्धन पनि हुन नसकेको मालिका– ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । 

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?